Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

कोशी अञ्चल अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड १९) को संक्रमण नेपालमा पनि व्यापक रुपले फैलिन थालेको सन्दर्भमा त्यसको रोकथाम एवं नियन्त्रण गर्न ने.उ.वा.महासंघका संस्थापक सदस्य ‘मोरंग व्यापार संघ’ र सदस्य ‘उद्योग संगठन मोरङ’ले सरकारका स्वास्थ्य संरक्षणका हरेक कदमहरुलाई आत्मसात गरी निरन्तर रुपले सहकार्य गर्दै आएको छ । यसै सन्दर्भमा आज मिति २०७७ जेठ ८ गते, बिहिबारका दिन पनि संघ र संगठनले कोरोना संक्रमितहरुको स्वास्थोेपचारमा सहयोग पु¥याउने उद्देश्यले प्रादेशिक राजधानी विराटनगरको कोशी अञ्चल अस्पताललाई १०० (एक सय) थान स्वास्थ्य सुरक्षा सामग्री (पिपिई सेट) उपलब्ध गराएको छ । मुलुकमा हाल दिनहुँ रुपमा संक्रमितहरुको संख्यामा बृद्धि भई रहेकोमा तिनको प्रत्यक्ष निगरानी, परिक्षण र उपचारमा खटिएका कोशी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको पहलमा आज उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यू सहित संघ–संगठनको संयुक्त टोलीले उक्त पिपिई सेट कोशी अञ्चल अस्पतालकी मे.सु डा. संगीता मिश्राज्यूलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण गर्ने क्रममा संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले कोभिड १९ रोगबाट संक्रमित रोगीहरुको रेखदेख एवं स्वास्थोपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरुलाई केहि हद सम्म भएपनि स्वास्थ्य सुरक्षाको प्रत्याभूति होस् भन्ने अभिप्रायले उक्त स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलब्ध गराइएको जानकारी गराउनु भएको थियो । संघ र संगठनका अध्यक्षद्वयबाट हस्तान्तरित ती सामग्रीहरु ग्रहण गर्ने क्रममा कोशी अञ्चल अस्पतालकी मे.सु. डा. संगीता मिश्राज्यूले वर्तमान जटिल परिस्थितिमा स्वास्थकर्मीहरुको जीवन रक्षार्थ अत्यावश्कीय स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराई मानवीय धर्म निर्वाह गर्नु भएकोमा संघ र संगठनका अध्यक्षज्यूहरुलाई धन्यवाद दिनु भई आगामी दिनमा पनि संघ र संगठनबाट निरन्तर साथ र सहयोगको अपेक्षा लिएको बताउनु भएको थियो । उक्त सुरक्षा सामग्रीहरु हस्तान्तरण गर्न संघका तर्फबाट निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, उपाध्यक्ष श्री विकास कुमार बेगवानीज्यू, महासचिव श्री अनिल कुमार साहज्यू, का.का. सदस्यहरु श्री अमित सारडाज्यू, श्री राजेश बगडियाज्यू र संगठनका तर्फबाट वरिष्ठ उपाध्यक्ष श्री सुयस प्याकुरेलज्यू, उपाध्यक्ष श्री राकेश सुरानाज्यू लगायतको उपस्थिति रहेको थियो । यस अघि संघ र संगठनले प्रदेश र स्थानीय सरकारहरुमार्फत सर्वसाधारणहरुकालागि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरु समेत उपलब्ध गराएको थियो । २०७७ जेठ ८ गते, बिहिबार