Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

मुख्य मन्त्रीज्यूलाई संघको ज्ञापन पत्र

मुख्य मन्त्रीज्यूलाई संघको ज्ञापन पत्र एवं रोजगारीमूलक उद्योगहरुको विधूत आपूर्ति कटौति प्रति आपत्ति आज मिति २०७६ चैत्र ५ गते, बुधबार मोरंग व्यापार संघले प्रदेश नं. १ का मुख्य मन्त्री माननीय शेरधन राईज्यूसँग भेट गरी वर्तमान परिवेशमा निजी क्षेत्रका औद्योगिक–व्यवसायीक क्षेत्रले भोगिरहेका समस्याहरु बारे अवगत गराई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष प्रकाश मुन्दडाज्यूको नेतृत्वमा गएको उद्योगी–व्यवसायीहरुको टोलीले माननीय मुख्यमन्त्रीज्यू समक्ष ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउनु हुँदै संघका अध्यक्ष मुन्दडाज्यूले विश्व स्वास्थ्य संगठन (WHO) ले हाल विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको नोबेल कोरोना भाइरस (COVID 19) को संक्रमणबाट जोगिन सरकारले गरिरहेको प्रयासको सह्रना गर्नु भएको थियो । साथै, विश्व व्यापी महामारीका कारण मोरङ–सुनसरी कोरिडोका औद्योगिक–व्यवसायिक क्षेत्रमा परिरहेको नकारात्मक प्रभाव बारे माननीय मुख्यमन्त्रीज्यूलाई अवगत गराउनु भई यस प्रकारको त्रासपूर्ण वातावरणमा समेत रधुपति जुट मिल र रिलायन्स स्पिनिङ मिल जस्तो हजारौँ जनतालाई रोजगारी प्रदान गर्ने उद्योगमा विधूत आपूर्ति कटौति गरी उद्योग धरासायी बनाइएकोमा त्यस प्रति समस्त उद्योगी–व्यवसायीहरु लगायत कामदारहरुको घोर आपत्ति रहेको बताउनु भएको थियो । साथै, अत्याधिक परनिर्भरता रहेको नेपालमा महामारीका कारण स्वास्थ्य लगायत मुलुकको अर्थतन्त्रमा समेत प्रतिकुल असर पर्ने प्रवल सम्भावना बारे अवगत गराउनु भई करिब ६ सय उद्योग संचालनमा रहेकोमा महामारीको प्रभावका कारण आगामी दिनमा कच्चा पदार्थको अभाव हुन सक्ने र सम्पूर्ण उद्योग व्यवसायहरु बन्द हुन सक्ने भएकोले अत्यन्त गम्भिर अवस्था सृजित भई आई पर्न सक्ने आर्थिक संकटको सामाना गर्न सरकारले समयमै तत्परता देखाउनु पर्ने तर्फ ध्यानाकर्षण गराउनु भएको थियो । साथै, त्यस किसिमको नकारात्मक परिस्थिति सृजना हुन नदिन एवं परिस्थितिलाई सामान्य बनाई राख्न विभिन्न रणनीति अपनाउनु पर्नेमा जोड दिनु भई अध्यक्षज्यूले प्रदेश नम्बर १ मा मुलुकका दुई ठूला खुल्ला नाकाहरु (विराटनगर र काँकडभिट्टा) रहेका कारण हजारौँ मानिसहरुको आवत–जावत हुने हुँदा संक्रमणको जोखिम उच्च हुन सक्ने भएको र यसको रोकथाम एवं नियन्त्रणकालागि प्रत्येक नाकामा स्वास्थ्य परिक्षण कार्यलाई अझ व्यवस्थित, मर्यादित र कडाईका साथ गराउन र पर्याप्त मात्रामा प्रदेशस्तरीय आइसोलेसन वार्डहरुको व्यवस्था गराउन समेत अग्रह गर्नु भएको थियो । अध्यक्षज्यू बजारमा हाल अत्यावश्यक वस्तु बाहेक अन्य औद्योगिक वस्तुहरु विक्री वितरणमा कमी आएकोले त्यसले उद्योग व्यवसायमा दिर्घकालिन असर पार्ने हुँदा उद्योगी व्यवसायीलाई हतोत्साहित नहुन सरकारबाट विभिन्न प्रकारका राहत उपलब्ध गराउन आग्रह गर्नु भएको थियो । हाल देखा परेका कच्चा पदार्थको पैठारीमा असहजता, निर्यातमा देखिएको कमि, व्यासायमा देखिएको मन्दी आदिका कारण उद्योगहरुको उत्पादन क्षमतामा ह«ास आई औद्योगिक वातावरण खलबलिएको र उद्योगी–व्यवसायीहरु शसंकित भएको अवस्थामा उद्योग–व्यवसाय संचालनका निमित्त लिईएका ऋणको बैंक व्याजदर सामान्य स्थिति झैँ ज्यूँ को त्यूँ रहेको तथा विद्यूत महशुल बृद्धि गर्ने प्रस्ताव अन्यायिक रहेको बताउनु भई बैंक व्याजदर, आयकर लगायतमा उचित सहुलियत दिई सो बुझाउने म्याद समेत अवस्था सामान्य नभए सम्मकालागि थप्न, विद्युत महशुल वृद्धिको प्रस्ताव स्थगन गरी उद्योगहरुलाई न्यूनतम महशुलमा एवं महशुल मिनाहा गरिदिन सम्बन्धित निकायमा पहल गरिदिन आग्रह गर्नु भएको थियो । साथै, विद्युत निर्यात गर्दा उठ्ने महशुल अत्यन्त न्यून रहेको जानकारी गराउनु हुँदै अध्यक्षज्यूले सो मुल्यमा केहि रकम थप गरी स्वदेशी उद्योगहरुलाई नै विद्युत उपलब्ध गराउनु अग्रह गर्नु भएको थियो । भेटको क्रममा अध्यक्ष मुन्दडाज्यूले विराटनगरको विमानस्थल स्तारोन्नतीकालागि आगामी बजेटमा बजेट विनियोजन गरी दिन, स्थानीय सरकारले असुल्ने कवाडी कर, औद्योगिक कर, सम्पत्ति कर आदि विभिन्न करहरुलाई क्षेत्रगत वर्गिकरण गरी उद्योग क्षेत्रका लागि खारेज गराई दिन, नेपाल सरकारबाट घोषित भ्रमण वर्ष २०२०का निमित्त लगानी गरिसकेका निजी क्षेत्रका उद्योगी–व्यवसायीहरुको व्याज मिन्हा गराई दिन आदि विभिन्न विषयहरुको चर्चा गर्दै सहुलियतकालागि माग गर्नु भएको थियो । भेटघाटका क्रममा संघका अध्यक्षज्यू लगायत पूर्व अध्यक्ष महेश जाजूज्यू, निर्वतमान अध्यक्ष पवन कुमार सारडाज्यू, उपाध्यक्षद्वय विकाश कु. बेगवानीज्यू, अनुपम राठीज्यू लगायत उद्योगी–व्यवसायीहरुको उपस्थिति रहेको थियो । २०७६ चैत्र ५ गते, बुधबार