Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

मोरंग व्यापार संघमा उद्योगी व्यवसायीहरुको बृहत भेला :

आज मिति २०७६ श्रावण १ गते, बुधबार नेपाल सरकारद्वारा लागू गरिएका भेहिकल एण्ड कन्साइन्मेन्ट ट्राकिङ्ग सिस्टम (भि.सी.टि.एस.), पान नम्बरको अनिवार्यता लगायत विभिन्न प्रावधानहरु बारे प्रतिक्रिया लिन मोरंग व्यापार संघमा उद्योगी व्यवसायीहरुको बृहत भेला आयोजना गरिएको थियो ।

मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सभापतित्वमा मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगको संयुक्त आयोजनामा संघमा आयोजित उक्त बृहत भेलामा मोरङ–सुनसरी औद्योगिक/व्यवसायिक कोरिडोरका सयौँ उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण उद्योगी-व्यवसायीहरुलाई संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले स्वागत गर्नु भई नेपाल सरकारबाट लागू भएका विभिन्न प्रावधानहरु माथी सबैको प्रतिक्रिया संकलन गरी ठोस कदम चाल्ने अभिप्रायले वृहत भेलाको आयोजना गरिएको जानकारी गराउनु भएको थियो । कार्यक्रममा अध्यक्ष मुन्दडाज्यूले भेहिकल एण्ड कन्साइन्मेन्ट ट्राकिङ्ग सिस्टम (भि.सी.टि.एस.), ज्याला भुक्तानी र रु. १०००।– माथीको खरिदमा पान नम्बरको अनिवार्यता, ढुवानीमा मु.अ.कर तथा मु.अ.कर फिर्ताका जटिलता, बैंक व्याज, विद्यूत आपूर्ति, मीरगञ्ज पुल लगायत कैयौं विषयहरुमा उद्योगी व्यवसायीहरुले समस्या भोगिरहेको जनाउनु हुँदै उपस्थित उद्योगी–व्यवसायीहरुसँग प्रतिक्रिया लिनु भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यूले संचालन गर्नु भएको उक्त कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यूले समस्याहरुको गम्भिरता बारे प्रकाश पार्नु भई त्यस प्रति सरकारले गम्भिरतापूर्वक सोच विचार गरी कदम चाल्नु पर्ने बताउनु भयो । कार्यक्रममा मोरंग व्यापार संघका पूर्व अध्यक्ष श्री सुरेश कुमार शर्माज्यू, उद्योगी श्री सुशिल धनावतज्यू, चाटर्ड एकाउन्टेन्ट श्री अश्विानी बंशलज्यू, उद्योगी व्यवसायीहरु आशुतोष यादव, अनिल पोखरेल, देवकीनन्दन अग्रवाल, तेजराज कोईराला, विवेक अग्रवाल, समी अग्रवाल, वसन्त राठी, विनोद सोनी, मोहित अग्रवाल, हरीचन्द शर्मा, रिषभ दाहाल लगायतले आ–आफ्नो प्रतिक्रिया दिनु भएको थियो । त्यसतै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री किशोर प्रधानले ती विषयमा आफू सरकारका सम्बन्धित मन्त्रालयहरु र निकायहरुसँग निरन्तर सम्पर्कमा रहेको बताउनु हुँदै समस्याहरु समाधानार्थ आफू प्रयत्नशिल रहेको बताउनु भएको थियो ।

उक्त बृहत भेलाले सरकारबाट ल्याईएका प्रावधानहरु आवश्यकता हेरी लागू गराउन समय दिनु पर्ने एवं चरणवद्ध रुपमा ल्याईनु पर्ने, सुचना प्राविधिको कठिनाईले उद्योगी–व्यवसायीलाई मर्का पार्न नहुने, पान नम्बरको अनिवार्यतालाई लचिलो बनाउनु पर्ने, मु.अ.कर फिर्तामा कुनै जटिलता ल्याउनु नहुने, बैंक र वीमा कम्पनीहरुको सिन्डीकेट अन्त्य गरिनु पर्ने, उच्चस्तरीय कार्यदल समितिले बुझाएको प्रतिवेदनका मागहरु अविलम्ब पुरा गरिनु पर्ने आदि विभिन्न माग राखी सरकार समक्ष पहल गर्ने, ज्ञापन पत्र बुझाउने एवं आवश्यक परे आन्दोलनमा समेत उत्रने निष्कर्ष निकालेको छ । साथै, यस सम्बन्धि भोली मिति २०७६ श्रावण २ गते पुनः बैठक बसी अन्तिम निर्णय लिईने जनाईएको छ ।

कार्यक्रममा संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू लगायत उद्योग संगठन मोरंगका अध्यक्ष श्री भीम घिमिरेज्यू, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री किशोर प्रधानज्यू, मोरंग व्यापार संघका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, विभिन्न वस्तुगत संघका अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरु, चाटर्ड एकाउन्टेन्टहरु, अर्थ विद्धहरु, उद्योगी–व्यवसायीहरु, सञ्चारकर्मीहरु लगायतको बृहत उपस्थिति रहेको थियो ।

मितिः २०७६ श्रावण १ गते, बुधबार