Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

संघद्वारा प्रहरी उपरिक्षक श्री विश्व अधिकारीज्यूलाई सम्मान गर्दै विदाई

आज मिति २०७७ आषाढ ५ गते, शुक्रबार, मोरंग व्यापार संघले काठमाडौँ सरुवा भई जान लाग्नु भएका प्रहरी उपरिक्षक श्री विश्व अधिकारीज्यूलाई सम्मान गर्दै विदाई गरेको छ ।

संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सभापतित्वमा आयोजित उक्त विदाई कार्यक्रममा अध्यक्ष मून्दडाज्यूले प्रहरी निरिक्षक अधिकारीज्यू अत्यन्त मिलनसार रहनुका साथै मुलुकको शान्ति सुरक्षा तथा सुशासन कार्यमा कुशल एवं देशभक्त प्रहरीको रुपमा समर्पित रही यस क्षेत्रको सुरक्षार्थ आफ्नो कार्यकाल अत्यन्त जिम्मेवारीपूर्वक, अनुसाशित र उत्तरदायी तवरले निर्वाह गर्नु भई प्रहरी प्रशासनको नेतृत्व र शान्ति सुरक्षाको अहम् भूमिका कुशलतापूर्वक सम्हाल्नु भएको बताउनु भएको थियो । आफ्नो कार्यकालमा प्रहरी निरिक्षक अधिकारीज्यूले उद्योगी–व्यवसायीहरुलाई समेत सौहार्दपूर्ण, निष्पक्ष र न्यायोचित तवरले सहयोग गर्दै आउनु भएकोले अध्यक्षज्यूले समस्त उद्योगी–व्यवसायी लगायत संघको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो । साथै, विश्वमै महाविपद्को रुपमा देखा परेको कोभिड–१९को संक्रमणकालमा समेत जिल्लावासीलाई स्वास्थ्य र शान्ति सुरक्षाको प्रत्याभूत गराउन वहाँको अहोरात्र मेहनत, लगनशिलता र कार्य कुशलता प्रशंसनीय रहेकोले सो को समेत उच्च मुल्यांकन गर्दै अध्यक्ष मून्दडाज्यूले मुलुककै जेठो उद्योग वाणिज्य संघको तर्फबाट सम्मान स्वरुप ‘सम्मान पत्र’ प्रदान गरी विदाई गर्नु भएको थियो ।

विदाई गर्ने क्रममा अध्यक्षज्यूले मोरङमा प्रहरी निरिक्षक अधिकारीज्यूको कार्यकाल अत्यन्त सन्तोषजनक रहेको बताउनु भई सुरक्षा निकायको नियमित प्रक्रिया अनुरुप वहाँको सरुवा भएकोमा आगामी दिनमा वहाँ नियुक्त भई जानु हुने कार्य क्षेत्रमा समेत यसै प्रकारले प्रभावकारी र सुव्यवस्थित प्रहरी प्रशासन कायम हुने अपेक्षा लिएको बताउनु भई वहाँको पूर्ण सफलता एवं उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो ।

संघका महासचिव श्री अनिल कुमार साहज्यूले संचालन गर्नु भएको उक्त कार्यक्रममा संघका निर्वतमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू, उपाध्यक्ष श्री अनुपम राठीज्यू लगायत कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यम विकास समिति सदस्यज्यूहरुले आ–आफ्नो शुभकामना सन्देश दिनु भएको थियो ।

सम्मान र शुभकामना सन्देशहरु ग्रहण गर्नु हुँदै प्रहरी उपरिक्षक अधिकारीज्यूले आफु नियुक्त भएपश्चात् आफ्नो दोश्रो कार्य क्षेत्र स्वरुप प्रहरी–पब्लीक रेसियोको आधारले समेत मुलुककै दोश्रो ठूलो शहर मानिने विराटनगरमा पोस्टीङ्ग भएकोमा आफु अत्यन्त हर्षित भई सदैव सस्फूर्तताका साथ सेवा दिँदै आएको र यस क्षेत्रमा आफ्नो कार्यकाल अविस्मरणीय हुन पुगेको बताउनु भएको थियो । साथै, आफ्नो कार्यकाल सफल तुल्याउन एवं जिल्लामा स्वास्थ्य र शान्ति सुरक्षा कायम राख्न निरन्तर र सान्दर्भिक रुपले मोरंग व्यापार संघबाट पाएको साथ, सहयोग र संघले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भई प्रहरी प्रशासनको व्यवस्थापनलाई सहजीकरण गर्न संघले सिसिटिभी जडान एवं संचालन, कार्यालय भवन निर्माण, स्वास्थ्य तथा राहत सामग्री लगायत कैयौँ प्रकारले भौतिक सहयोग समेत गरेकोले सो प्रति आभार प्रकट गर्नु भएको थियो ।

झण्डै १३ महिना अगाडी सरुवा भई यस क्षेत्रमा आउनु भएका प्रहरी उपरिक्षक विश्व अधिकारीज्यूले प्रहरी प्रशासनको सु–व्यवस्थापनका निमित्त नमूना कार्यालयको स्थापना गर्नुका साथै ‘प्रहरी मेरो साथी’ अभियान, ‘स्वीप अपरेसन’ लगायत कैयौँ अभियान चलाउनु भई यस क्षेत्रकोे अपराधिक गतिविधि
(क्राईम रेट)लाई १७ प्रतिशतले न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ ।

२०७७ आषाढ ५ गते, शुक्रबार ।