Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

स्थानीय करहरुमा एकरुपता ल्याउन अनुरोध

बुढीगंगा गाउँपालिका र दुहवी नगरपालिका लगायत प्रदेश नं. १ का स्थानीय तहमा अवैज्ञानिक र अन्यायिक तवरले असूली भइरहेका स्थानीय करहरु प्रति मोरंग व्यापार संघको गम्भिर ध्यानाकर्षण भएकोमा आज मिति २०७६ आषाढ १७ गते संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय इन्द्र आङबोज्यूलाई भेट गर्नु भई वर्तमान परिस्थिति बारे अवगत गराउनु भएको छ ।

अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको नेतृत्वमा संघका निर्वतमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, उपाध्यक्षद्वय श्री बिकास कुमार बेगवानीज्यू, श्री अनुपम राठीज्यू र महासचिव श्री अनिल कुमार साहज्यू सहितको टोलीले माननीय मन्त्री इन्द्र आङबोज्यू समक्ष स्थानीयस्तरमा कर असुली गर्न खटिएका ठेकेदार/प्रतिनिधिहरुबाट औद्योगिक कच्चा पदार्थ लगायत कृषी उपज ओसार पोसार गर्ने खाली बोराहरुलाई समेत कवाडी साम्रगीको संज्ञा दिई कवाडी कर असूल्ने, विक्रेता एवं सवारी चालकलाई धम्क्याउने एवं त्रासपूर्ण वातावरण सृजना गर्ने, मालवाहक सवारी साधन थुन छेक गर्ने आदि अव्यवहारिक क्रियाकलाप बारे अवगत गराइएको थियो । त्यस्तै, जिल्ला समन्वय समितिबाट समेत अवैज्ञानिक र मनोमानी तवरले अत्याधिक कर÷शुल्क निर्धारण गरिएकोमा त्यस किसिमका जोर–जवरजस्ती असूलीले विक्री वितरणमा जटिलता आउनुका साथै यस प्रदेशका औद्योगिक उत्पादनहरुको प्रतिस्पर्धात्मक क्षमतामा प्रतिकूल असर पर्ने र उद्योग धरासायी समेत हुने अवस्था सृजना हुने बारे माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराईएको थियो । साथै, संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले स्थानीय तहमा अवैज्ञानिक ढंगले असूल भई रहेका त्यसता अव्यवहारिक स्थानीय करहरु खारेज गर्न र सबै स्थानीय तहको कर असूलीमा एक रुपता ल्याउन उचित नीति नियम/निर्देशिका र आवश्यक निर्देशन जारी गरिदिन अनुरोध गर्नु भएको थियो ।