Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

२०७७.०८.०२ – मोरंग व्यापार संघमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीज्यूसँगको स्वागत तथा भेटघाट कार्यक्रम

आज मिति २०७७ मंसीर २ गते, मंगलबार मोरंग व्यापार संघले उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री माननीय मोतीलाल दुगडज्यूको संघमा स्वागत गरी भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

माननीय राज्य मन्त्रीज्यू गृह नगर पाल्नु भएको अवसरमा मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा माननीय राज्य मन्त्रीज्यू समक्ष उद्योगी व्यवसायीहरुको वर्तमान समसामयिक समस्याहरु बारे अवगत गराइनुका साथै वर्तमान परिवेशमा संघीय सरकारबाट निजी क्षेत्रका उद्योग व्यवसायहरुको हक–हित, संरक्षण र सम्वद्र्धनका निमित्त भई रहेका गतिविधिहरु बारे जानकारी लिइएको थियो ।

माननीय राज्य मन्त्री मोतीलाल दुगडज्यूलाई संघमा स्वागत गर्नु हुँदै संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले कोभिड १९ महामारीको त्रासका कारण उद्योग व्यवसाय क्षेत्रमा देखा परेका विद्यमान अवस्था र समसामयिक समस्याहरु बारे अवगत गराउनु भएको थियो । संघका अध्यक्ष मून्दडाज्यूले लकडाउनका कारण मुलुकमा अवस्थित खाद्यान्न लगायत अत्यावश्कीय वस्तु उत्पादक÷वितरक केहि उद्योग÷व्यवसायहरु जेनतेन चलेतापनि होटल, एयरलाइन्स लगायत अन्य अधिकांश औद्योगिक÷व्यवसायिक प्रतिष्ठानहरु अत्यन्त प्रभावित भई धसासायी समेत भई रहेको बारे जानकारी गराउनु भएको थियो । साथै, अध्यक्ष मून्दडाज्यूले हाल सीमा नाका क्षणिक रुपले बन्द रहेतापनि स्थानीय बजारमा केहि सकारात्मक प्रभाव पर्नुका साथै केहि क्षेत्रगत उद्योगहरुलाई फस्टाउन मद्दत पुगिरहेको व्यहोरा माननीय राज्य मन्त्रीज्यूलाई अवगत गराउनु भई आगामी दिनमा सीमावर्ति बजारबाट हुने खुल्ला व्यापार र चोरी पैठारी जस्ता कृयाकलापहरुलाई कडाई गर्नुका साथै त्यस्ता कृयाकलापहरुको अध्ययन गर्ने समितिको गठन गरी राजस्वको दायरामा ल्याउने नीति निर्माण गर्न सुझाव दिनु भएको थियो । मन्तव्य दिने क्रममा अध्यक्ष मून्दडाज्यूले स्वदेशमा सुती कपडाको उत्पादन नभई रहेको तथा मुलुक परनिर्भर रहेको त्यस्ता अत्यावश्कीय वस्तुहरुको आयात हुँदा परिवहनमा सब्सिडी दिने, भन्सार दर शुन्य वा न्यून गर्ने जस्ता व्यवस्था मिलाई नेपालीहरुको क्रयशक्ति वृद्धि गर्ने नीति ल्याउन सुझाव दिनु भएको थियो । त्यस्तै, विस्कुट लगायत आत्मनिर्भर हुन सकिने वस्तुहरुको आयातमा भन्सार दर वृद्धि गरी आयात प्रतिस्थापन र स्वदेशी उद्योगको संरक्षण गर्ने नीति ल्याइनु पर्नेमा जोड दिनु भएको थियो । साथै, अध्यक्ष मून्दडाज्यूले स–साना व्यवसायीहरुबाट पनि ठूलो रकमको जरिवाना असुल उपर गर्ने अव्यवहारिक र अवैज्ञानिक परिपाटीको अन्त्य गरिनु पर्ने, कम्पनी राजिस्ट्रारको कार्यालयको जरिवाना रकम न्यून गरिनु पर्ने एवं विवरण नबुझाएको खण्डमा आयकर ऐनको जस्तै एकमुष्ट जरिवनाको व्यवस्था हुनु पर्ने, छुट्टा–छुट्टै दफाको छुट्टा छुट्टै जरिवाना हटाइनु पर्ने, जरिवाना गाभिने व्यवस्था (क्युमेलिटिभ जरिवाना) हटाइनु पर्ने लगायतका मागहरु माननीय राज्य मन्त्रीज्यू समक्ष राख्नु भएको थियो । अध्यक्ष मून्दडाज्यूले माननीय राज्य मन्त्रीज्यू स्वयं उद्योगी रहनुका साथै मोरंग व्यापार संघको पूर्व उपाध्यक्ष समेत रहनु भएका कारण निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको वर्तमान मर्मलाई राम्ररी बुझ्नु भएको जनाउनु भएको थियो ।

त्यस्तै कार्यक्रमका अर्का सभापति उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेज्यूले माननीय राज्य मन्त्रीज्यू समक्ष सुनसरीको अमडुवामा अवस्थित खाली जग्गालाई औद्योगिक क्षेत्रको रुपमा प्रयोगमा ल्याउन, विराटनगरमा मोरंग व्यापार संघ र उद्योग संगठन मोरङद्वारा निर्माण गरिने औद्योगिक प्रदर्शनी स्थलकालागि संघीय सरकारबाट बजेट विनियोजना गराउन, भारतीय प्राविधिक तथा कामदार ल्याउन सरकारबाट सहजीकरण गरिदिन आदि मागहरु राख्नु भएको थियो । त्यसैगरी विराट व्यापार संघका अध्यक्ष श्री सुजन थापाज्यूले स्थानीय बजारका करदाता व्यवसायीहरुको संरक्षणकालागि सीमावर्ति क्षेत्रमा हुने खुल्ला बजारलाई कडाई गर्नु पर्ने, वाणिज्य फर्म नविकरणमा विभागबाट लचकता अपनाइनु पर्ने आदि सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।

त्यसैगरी, मोरंग व्यापार संघका निर्वतमान अध्यक्ष एवं पूर्व संविधान सभा सदस्य श्री पवन कुमार सारडाज्यूले उद्योगहरुका सरकारी काम कारवाहीहरु छिटो छरितो ढंगले सम्पन्न गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा एकद्वार – एक टेवल प्रणालीको व्यवस्था गरिदिन, विराटनगरको विमानस्थलकालागि बजेट विनियोजन गराई कार्य अघि बढाउन आदि मागहरु राख्नु भएको थियो ।

त्यस्तै मोरंग व्यापार संघका पूर्व अध्यक्ष श्री ताराचन्द खेतानज्यूले नेपाल र भारतको रोटी बेटी सम्बन्ध रहेकोमा हाल भारतमा लकडाउन खुकुलो भई नेपालीहरु भारत जान समस्या नरहेकोले भारतीयहरुकालागि पनि नेपाल प्रवेश गर्न खुलुको पारिनु पर्ने धारणा राख्नु भएको थियो । साथै, भन्सार कार्यालयका डेटावेशहरु आवधिक रुपले अध्यावधिक गरिनु पर्ने, उद्योगहरुकालागि मु.अ.कर, अन्तःशुल्क, आयकर आदिमा सहुलियत दिइनु पर्ने सुझाव दिनु भएको थियो । त्यसैगरी संघका पूर्व अध्यक्ष श्री महेश कुमार जाजूज्यूले पनि परनिर्भरता रहेका वस्तुहरु, लत्ता कपडा, साडी, चिनी आदिको आयात शुल्क पनि शुन्य गरिनु पर्ने बताउनु भई भारतीय प्राविधिक तथा कामदारहरुलाई परिचय पत्रको आधारमा प्रवेशमा सहजीकरण गर्नु पर्ने सुझाव दिनु भएको थियो ।

कार्यक्रममा कपडा व्यवसायी संघका अध्यक्ष श्री शम्भु कावराज्यू र पदाधिकारी श्री नन्द किशोर जाजूज्यूले पनि सुती लगायतका कपडा आयातका अत्याधिक भन्सार दर न्यूनिकरण गर्नु पर्ने, भारतीय निर्यातकर्ताबाट प्राप्त हुने जि.एस.टी. विजक एवं एक्सपोर्ट विललाई नेपाली भन्सार कार्यालयले मान्यता दिनु पर्ने अन्यथा विजक रकमको १० प्रतिशत मुनाफा मै नेपाली भन्सार कार्यालयले खरिद गरिदिनु पर्ने धारणा राख्नु भएको थियो । त्यसै गरी नेपाल इलेक्ट्रीक संघका तर्फबाट श्री नविन अग्रवालज्यूले इलेक्ट्रीक व्यवसायीहरुले पनि कपडा व्यवसायीहरु जस्तै समस्या भोगिरहेको अवगत गराउनु भई विद्यूतीय सामग्री आयात गर्दा विल विजकलाई मान्यता दिनु पर्ने, साना व्यवसायीले भिसिटिएसमा भोगिरहेका समस्याको अन्त्य गरिनु पर्ने, अन्य मुलुकमा सरह नेपाली व्यवसायीहरुलाई पनि करमा सहुलियत दिइनु पर्ने बताउनु भएको थियो ।

त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यूले कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझाउनु पर्ने आय विवरण लगायतका कागजातहरु कार्यालयले स्वतः आन्तरिक राजस्व विभाग र सम्बन्धित निकायबाट झिकाउने व्यवस्था गरिए उद्योगी व्यवसायीहरुलाई सहज हुने बताउनु भएको थियो । संघका उपाध्यक्ष श्री अनुपम राठीज्यूले माननीय मन्त्रीज्यूको मन्त्रालयबाट अल्पकालिन, मध्यकालिन र दिर्घकालिन औद्योगिक नीतिहरुको निर्माण गर्न माग गर्नु भएको थियो भने संघका विशेष सल्लाहकार श्री सुनिल टिवडेवालाज्यूले स्वदेशी कच्चा पदार्थ उपयोग गरी उत्पादित वस्तुहरु निर्यात गर्ने उद्योगहरुलाई निर्यातमा विशेष सहुलियतका साथै डिउडी ड्रव्याक दिनु पर्ने माग राख्नु भएको थियो । सोही क्रममा संघका सचिव श्री अनिल कुमार सारडाज्यूले सल्फर, एशिड जस्ता संवेदनशिल वस्तुहरु उत्पादक उद्योगहरुको स्थापनाकालागि स्वीकृति लिँदा विभिन्न निकायहरुसँग समन्वय गर्दा गर्दै झण्डै १ वर्ष पर्खिनु पर्ने समस्या रहेकोले त्यसलाई मन्त्रालयस्तरबाटै सहजीकरण गर्ने व्यवस्था गर्नु पर्ने माग राख्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री एवं मोरंग व्यापार संघका पूर्व उपाध्यक्ष माननीय मोतीलाल दुगडज्यूले कार्यक्रममा उठान भएका कतिपय विषयहरु कार्यान्वयनकालागि अघि बढि सकेको जनाउनु भई आगामी केहि दिन मै सीमावर्ति बजार र खुल्ला व्यापार बारे अध्ययन गर्न एक समिति गठन गराउने, कम्पनी रजिष्ट्रारको कार्यालयका काम कारवाहीलाई सहजीकरण गराउने र कार्यक्रम मार्फत आफूलाई जानकारी हुन आएका प्रत्येक मागहरु संबोधन गराउन आफू स्वयं सम्बन्धित निकायहरुसँग समन्वय गरी तत्कालै समाधानकालागि जोडदार पहल–पैरवी गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

विद्यमान अवस्थालाई मध्यनजर गरी स्वास्थ्य सुरक्षाका मापदण्डहरु सहित मोरंग व्यापार संघका महासचिव
श्री अनिल कुमार साहज्यूद्वारा संचालित उक्त कार्यक्रममा मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ लगायत विभिन्न संघ–संस्थाका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

२०७७ मंसीर २ गते, मंगलबार