Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2077.11.17 – वाणिज्य तथा आपूर्ति सचिवज्यूको स्वागत गरी भेटघाट

मिति २०७७ फाल्गुण १७ गते, सोमबार मोरंग व्यापार संघमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव श्री दिनेश भट्टराईज्यूको स्वागत गरी भेटघाट गरिएको छ । मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रम संघका महासचिव श्री अनिल कुमार साहज्यूले संचालन गर्नु भएको थियो ।

सचिव श्री दिनेश भट्टराईज्यूलाई संघमा स्वागत गर्नु हुँदै उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो भने मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मून्दडाज्यूले सचिवज्यूको स्वागत गर्दै यस अघि वहाँ प्रदेश सचिवको रुपमा कार्यरत रहँदा सरकार र निजी क्षेत्रका उद्योग व्यवसाय बीच सूमधुर सम्बन्ध कायम राख्न एवं उद्योगी व्यवसायीहरुको मन जित्न सफल हुनु भएको तथा प्रदेश तहमा वहाँले सिमित श्रोतको उपलब्धतामा पनि उल्लेखनीय कार्य गर्नु भएको जनाउनु हुँदै वहाँको कुशल कार्यशैलीको प्रशंसा गर्नु भएको थियो । साथै, हाल वहाँलाई संघीय सरकार मार्फत मुलुकको वाणिज्य र आपूर्ति श्रृंखला परिचालन गर्ने जिम्मेवारी आएकोमा सो कार्यमा समेत वहाँले कार्यकुशलता देखाउनु हुने विश्वासका साथ वहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । मन्तव्य दिने क्रममा अध्यक्ष मून्दडाज्यूले मुलुकको वाणिज्य र आपूर्ति व्यवस्था अन्तरगत निजी क्षेत्रका उद्यमी व्यवसायीहरुले सरकारबाट धेरै अपेक्षाहरु रहेको जनाउनु भई अपेक्षित विषयहरु सुझावको रुपमा प्रस्तुत गर्नु भएको थियो ।

अध्यक्ष मून्दडाज्यूले वाणिज्य फर्म नविकरणकालागि विद्यमान व्यवस्थामा विभागले लचकता अपनाउनु पर्ने, वर्षौँदेखि कारोवार र नविकृत नगरेका फर्महरुलाई अधिकतम् ५,०००।– शुल्क लिई बन्द गर्ने मौका दिइनु पर्ने, लगातार ५ वर्षसम्म कारोवार नगरेका फर्महरु स्वतः बन्द हुने व्यवस्था गरिनु पर्ने, व्यवसायीहरुको उधारो सुरक्षण गर्ने नीति र निकाय बनाइनु पर्ने, ट्रक व्यवसायी र ढुवानीकर्ताहरुको दोहोरो टि.डि.एस. लगायतका समस्याहरु निराकरण गरिनु पर्ने, Joint Venture मा सरकारी परियोजनाहरुलाई मालवस्तु आपूर्ति गरिँदा कट्टा गरिने टि.डि.एस. रकमहरु लेखापरिक्षण पश्चात् Joint Venture Partners हरुलाई बाँडफाँड गरिदिनु पर्ने, स–साना व्यवसायीहरुलाई ठूलो जरिवाना असुली गर्न नहुने, आर्थिक त्रुटिहरुलाई आर्थिक रुपमै सच्याउने मौका दिइनु पर्ने, कागजातहरु बारम्बार बुझाउनु पर्ने बाध्यतालाई डिजिटलाईजेशन मार्फत न्यूनिकरण गरिँदै जानु पर्ने, सीमावर्ती क्षेत्रमा हुने खुल्ला व्यापार र चोरी पैठारीलाई कडाई गरिनु पर्ने, कमजोर हुन पुगेको मुलुकको Economy of Scale को मजबुतिकरणमा जोड दिनु पर्ने, सुनसरीको अमडुवामा औद्योगिक क्षेत्र विकास गरी त्यसलाई क्रस बोर्डर इकोनोमिक जोनमा परिणत गर्नु पर्ने, भारतसँगको क्ष्न्ऋ बैठकमा जोगबनी आई.सी.पी. सम्मको निर्माणाधिन ४ लेन सडक, पुल र आवश्यक पूर्वाधारहरुको शिघ्र निर्माणकालागि पहल गरिनु पर्ने आदि विभिन्न सुझावहरु दिनु भएको थियो ।

कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदिप मुरारकाज्यूले निकासी पैठारीका मालसामान परिक्षण गर्ने रक्सौल स्थित प्रयोगशाला कोभिड १९का कारण बन्द भएकोमा परिक्षणकालागि हाल कलकत्ता पठाउनु पर्ने बाध्यताले समय लाग्ने गरेकोले सो खुलाउन पहल गर्नु पर्ने बताउनु हुँदै कम्पनी अद्यावधिक गराउँदा लाग्ने अत्याधिक जरिवाना न्यून गरिनु पर्ने, मुलुकभरिका कुनै पनि वाणिज्य कार्यालयहरुबाट फर्म नविकरण गर्न सकिने व्यवस्था गरिनु पर्ने, तेल, कोइला आदि वस्तुहरु विराटनगरमा भण्डारण गर्ने पूर्वाधार निर्माण गरिनु पर्ने आदि सुझावहरु दिनु भएको थियो । त्यसैगरी संघका का.का. सदस्य श्री अमित सारडाज्यूले निर्यातजन्य वस्तुहरु प्याकिङ गर्नकालागि आयातित खाली टिनहरुको निर्यात पश्चात्  डिउटी ड्र व्याकको व्यवस्था सूचारु गरिनु पर्ने, चोरी पैठारी भई आउने विस्कुट आदि वस्तुहरुलाई कडाई गरिनु पर्ने, भारतबाट रेल्वे वेगन मार्फत क्रुड आयल, पेट्रोलियम पदार्थहरु ल्याउने व्यवस्थाकालागि पहल गर्नु पर्ने आदि सुझाव दिनु भएको थियो । त्यसैगरी, व्यवसायी श्री हेम करण ढुगडज्यूले नविकरण हुन नसकेका फर्महरुलाई जरिवाना लिई नविकरण गर्न दिने व्यवस्था गरिनु पर्ने बताउनु हुँदै सरकारका केहि नीति नियमहरुका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाली व्यवसायीहरु प्रतिको विश्वास खस्की रहेको तथा भेदभावपूर्ण समेत रहेकोले त्यसको अविलम्ब सुधार गरिनु पर्ने सुझाव दिनु भएको थियो ।

त्यसैगरी, संघका पूर्व उपाध्यक्ष श्री शुशिल कुमार जोशीज्यूले तेश्रो मुलुकबाट आयातित खाद लगायतका बल्क कार्गोहरु सोझै विराटनगर ल्याउन सकिने व्यवस्थाकालागि पहल गर्नु पर्ने बताउनु भएको थियो । कपडा व्यवसायी संघका अध्यक्ष श्री शम्भु कावराज्यूले मुलुक परनिर्भर रहेका कपडाहरु ५ प्रतिशत भन्सार दर र ५ प्रतिशत मु.अ.करमा आयात गर्न सकिने व्यवस्था मिलाउन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका प्रमुख श्री सन्तोष पोखरेलज्यूले खरिद बिल वेगर विस्कुट लगायत कुनै पनि वस्तु विक्री वितरण गर्ने पसलहरुलाई कार्यालयले जरिवाना र कारवाही गरिरहेको बताउनु भएको थियो । साथै, कार्यक्रम मार्फत विभिन्न उद्यमी व्यवसायीहरुले दिनु भएको राय सुझाव प्रति वाणिज्य तथा आपूर्ति सचिव श्री दिनेश भट्टराईज्यूले पारदर्शी र प्रतिस्पर्धी व्यवसायिक वातावरण निर्माण गर्न आफू कटिबद्ध भई लागेको जनाउनु हुँदै कार्यक्रममा उठान भएका विषयहरुमा चाँडो भन्दा चाँडो निर्णय गर्ने भूमिका आफूले खेल्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

कार्यक्रममा मोरंग व्यापार संघ र उद्योग संगठन मोरङका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारी एवं कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यमीहरु, विभिन्न संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिज्यूहरु, उद्योगी व्यवसायीहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।