Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.03.22 – मोरंग व्यापार संघद्वारा ट्रेड युनियनहरुसँग छलफल

आज मिति २०७८ आषाढ २२ गते, मोरंग व्यापार संघले मोरङ–सुनसरी कोरिडोरका ट्रेड युनियन प्रमुख एवं प्रतिनिधिज्यूहरुसँग भेटघाट गरी छलफल गरेको छ ।

संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा सामाजिक दुरी कायम गरी आज संघमा आयोजित उक्त भेटघाट तथा छलफल कार्यक्रममा मोरङका टे«ड युनियनका प्रमुख एवं प्रतिनिधिहरुलाई अध्यक्ष श्री मून्दडाज्यूले संघमा स्वागत गर्नु भई मोरङ–सुनसरी कोरिडोरका विभिन्न प्रतिष्ठानहरुमा कार्यरत श्रमिक÷ कामदारहरुको विद्यमान अवस्था, सरकारद्वारा निर्देशित सामाजिक सुरक्षा कोषको पछिल्लो संशोधित व्यवस्था तथा कोषमा आवद्ध हुन सरकारबाट दिइएका पछिल्ला सुविधाहरु आदि विषयमा प्रतिक्रिया लिनु भएको थियो ।

अध्यक्ष श्री मून्दडाज्यूको जिज्ञासा प्रति आ–आफ्नो प्रतिक्रिया दिनु हुँदै ट्रेड युनियनका प्रमुख एवं प्रतिनिधिज्यूहरुले श्रमिक÷कामदारहरुलाई कोभिड १९ संक्रमण तथा निषेधाज्ञाका कारण प्रत्यक्ष असर पर्न गएको तथा निजहरुको स्वास्थ्य सुरक्षाको जोखिम उच्च हुन गएतापनि निजहरुकालागि सरकारबाट संक्रमण विरुद्धको खोप (भ्याक्सिन) लगायत कुनै प्रकारका सहयोग उपलब्ध हुन नसकेको प्रति दुखेसो पोख्नु भएको थियो । साथै, ट्रेड युनियन प्रमुख एवं प्रतिनिधिहरुले सामाजिक सुरक्षा कोषका सन्दर्भमा कोष संचालन सम्बन्धी सरकारद्वारा गरिएका पछिल्ला केहि संशोधनहरुले राहत तुल्याउने देखिएतापनि कोभिड १९को दोश्रो लहरको चरम प्रभाव तथा निषेधाज्ञा लागू रहँदै सरकारद्वारा आव्हान गरिएका कोषमा आवद्ध हुँदा दिइने पछिल्ला सुविधाहरु सम्बन्धित सबै पक्षले समयमा प्राप्त गर्न नसकेको तथा निषेधाज्ञा हट्नु अगावै सो को म्याद सकिएको जनाउनु भई त्यस प्रति सरकारले पुनर्विचार गरी म्याद थप गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष श्री मून्दडाज्यूले श्रमिक÷कामदार र उद्योगी÷व्यवसायीहरु एकै रथका दुई पाङग्रा रहेको ईंगित गर्नु भई श्रमिक÷कामदारहरुको हितका निम्ति सामाजिक सुरक्षा कोषका कार्यविधिहरुको संशोधन एवं क्रमिक सुधारकालागि संघ लगायत निजी क्षेत्रका औद्योगिक÷व्यवसायिक प्रतिष्ठानहरुले शुरु देखिनै जोडदार पहल गर्दै आएको तथा ट्रेड युनियनका विचारहरुलाई उद्योगी÷व्यवसायीहरुले सदैव आत्मसात गर्दै आएको जनाउनु भएको थियो ।

कार्यक्रमबाट संघ र ट्रेड युनियनको साझा विचार स्वरुप सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारको पछिल्लो आव्हान तथा सुविधा दिने म्याद निषेधाज्ञा कै अवधिमा समाप्त हुन पुगेकाले सो सुविधाहरु सबै पक्षले प्राप्त गर्न सक्ने गरी २०७८ श्रावण मसान्त सम्मकालागि म्याद थप गरिदिन सरकार एवं सम्बन्धित निकाय समक्ष जोडदार माग गरिएको छ ।

संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू लगायत वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू, उपाध्यक्ष श्री अनिल कुमार साहज्यू सहितको उपस्थितिमा सम्पन्न उक्त छलफल कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष श्री किशोर धमलाज्यू लगायत प्रतिनिधिज्यूहरु, अखिल नेपाल ट्रेड युनियन महासंघ, प्रदेश नं. १का अध्यक्ष श्री टिका प्रसाईज्यू लगायत प्रतिनिधिज्यूहरु, नेपाल ट्रेड युनियन, कांग्रेसका श्री सुशिल कोईरालाज्यू लगायतको सक्रिय सहभागिता रहेको थियो ।

२०७८ आषाढ २२ गते, मंगलबार