Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.04.18 – विद्युत आपूर्तिका समस्याहरु बारे प्राधिकरणका प्रमुखहरुसँग छलफल

मिति २०७८ श्रावण १८ गते, सोमबार, मोरंग व्यापार संघले नेपाल विद्युत प्राधिकरणको प्रदेश नं. १का प्रादेशिक कार्यालय र विराटनगर वितरण केन्द्रका प्रमुखज्यूहरुसँग कटहरी गाउँपालिका एवं मोरङ–सुनसरी औद्योगिक कोरिडोरका विद्युत सम्बन्धी समस्याहरु बारे छलफल गरेको थियो ।

संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले संघमा पाल्नु भएका नेपाल विद्युत प्राधिकरण, प्रदेश नं. १ प्रादेशिक कार्यालयका प्रमुख श्री टेकनाथ तिवारीज्यू, प्राधिकरणको विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेश कुमार गोहिवारज्यू र प्रदेश कार्यालयका श्री आनन्द नेपालज्यूलाई स्वागत गर्नु भई उद्योगीहरुले हाल भोगिरहेका समस्याहरु बारे अवगत गराउनु भएको थियो ।अध्यक्ष श्री मून्दडाज्यूले प्राधिकरणका प्रमुखज्यूहरु समक्ष मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तरगत कटहरी गाउँपालिका सहित आसपासका क्षेत्रहरुमा ३३ केभिए लाईन जडान रहेतापनि हाल विद्यूत आपूर्तिमा हुने गरेको ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित विद्यूत आपूर्तिका कारण उद्योगहरु संचालन गर्न कठिनाई भई रहेको तथा अधिकांश उद्योगहरुले उत्पादन कटौति गर्न बाध्य भएको बताउनु भई विद्युत ट्रिपिङ्ग एवं भोल्टेजको अस्थिरताबाट उद्योगहरुका विद्युतीय उपकरणहरुमा क्षति पुग्ने, उत्पादनको प्रक्रियामा रहेका एवं आवश्यक तापक्रम कायम गरी राखिएका कच्चा पदार्थहरु खराब भई खेर जाने तथा पुनः प्रक्रियामा ल्याउनु पर्ने आदि समस्याहरुबाट उद्योगहरुलाई ठूलो व्यय भार थपिने गरेको बताउनु भएको थियो । त्यस्तै, वर्षायाममा समेत विद्युत आपूर्तिमा कमी हुने गरेको, मर्मत सम्हारका कार्यहरु सुस्त गतिमा हुने गरेको, विद्युत प्राधिकारणबाट पूर्व सूचना विनै पटक पटक विद्युत कटौति हुने गरेको आदि बताउनु हुँदै अध्यक्ष श्री मून्दडाज्यूले विद्युत आपूर्तिमा हुने गरेका त्यस्ता समस्याहरुका कारण समग्र कोरिडोरकै उत्पादकत्वमा ह«ास आई अर्बौँको निर्यात प्रभावित भएको र राजस्व समेत गुमिरहेको बताउनु भएको थियो । अध्यक्ष श्री मून्दडाज्यूले विद्युत महशुल र डिमाण्ड शुल्कको दरमा लगातारको वृद्धिका कारण समेत उद्योगहरुको लागत खर्च बढेको र त्यसको भार उपभोक्ता वर्गलाई समेत परिरहेको बताउनु हुँदै प्राधिकरणले विद्यमान समस्याहरुको शिघ्र समाधानकालागि ठोस कदम चाल्नु पर्ने र औद्योगिक उत्पादनका लागत खर्च न्यूनीकरण हुने गरी गुणस्तरीय विद्यूत आपूर्तिको व्यवस्थापन गर्नु पर्ने सुझावहरु दिनु भएको थियो ।अध्यक्ष श्री मून्दडाज्यूले अवगत गराउनु भएका समस्या र सुझावहरु प्रति नेपाल विद्युत प्राधिकरण, प्रदेश नं. १ प्रादेशिक कार्यालयका प्रमुख श्री टेकनाथ तिवारीज्यूले तिनको समाधानका लागि आफ्नो स्तरबाट शिघ्रताका साथ आवश्यक कदमहरु चाल्ने आश्वासन दिनु भएको थियो ।कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले संघले थालनी गरेको ‘मेरो देश, मेरै उत्पादन’ अभियानको प्रवद्र्धन स्वरुप वितरण गर्दै आएको सो अभियानको पेपर स्टेन्डहरु प्राधिकरणका प्रमुखज्यूहरुलाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा संघका अध्यक्षज्यू सहित निर्वतमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री नवीन रिजालज्यू, महासचिव श्री अनिल कुमार साहज्यू, कार्यसमितिका सदस्यज्यूहरु र उद्योगीहरुको उपस्थिति रहेको थियो ।

मितिः २०७८ श्रावण १८ गते, सोमबार