Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.09.05 – भारतीय कस्टम्स कमिश्नरसँगको सी.सी.एफ.सी. बैठकमा संघद्वारा सुझाव प्रस्तुत

आज मिति २०७८ पौष ५ गते, मोरंग व्यापार संघले जोगबनीमा पाल्नु भएका पटना, भारतका कस्टम्स कमिश्नर श्री पी.के. कट्यारज्यू सहित भारतका भन्सार अधिकारीहरुसँग भेट गरी नेपाल–भारत व्यापार सहजीकरण विषयहरुमा छलफल गरेको छ । पटनाका कस्टम्स कमिश्नरद्वारा गठित कस्टम्स क्लियरेन्स फेसिलिटेशन कमिटी (सी.सी.एफ.सी.)को सदस्यको रुपमा रहेको मोरंग व्यापार संघले आज आई.सी.पी., जोगबनीमा आयोजित सी.सी.एफ.सी. बैठकमा भाग लिँदै कमिश्नर कट्यारज्यू समक्ष संघको तर्फबाट राय सुझाव प्रस्तुत गरेको छ ।

अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको नेतृत्वमा गएको संघको टोली बैठकमा सहभागी भई कमिश्नर कट्यारज्यू समक्ष भुपरिवेष्ठित नेपाल तथा मोरङ–सुनसरी आर्थिक कोरिडारलाई भारतले विशेष सहजीकरण गर्दै जानु पर्ने बताउँदै नेपाल–भारत व्यापार, परिवहन र विभिन्न विषय वस्तुहरु समेटी सुझाव प्रस्तुत गरेको हो ।

संघद्वारा प्रस्तुत उक्त सुझावमा विशेष गरी जोगबनी र विराटनगरका आई.सी.पी.हरुमा निर्मित रेल्वे यार्ड तत्कालै संचालनमा ल्याउनु पर्ने, रेल्वे ¥याक मार्फत नेपालका लागि जोगबनी स्टेशन आउने मालवस्तुहरु हाललाई विराटनगर भन्सार कार्यालयबाटै जाँच पास गराउने व्यवस्था गरिनु पर्ने, संघले उठाएको माग बमोजिम बथनाहामा निर्माणाधिन मीरगञ्ज पुलको बैकल्पिक पुलको निर्माण कार्य तत्कालै सम्पन्न गरी शिघ्रताका साथ संचालनमा ल्याउनु पर्ने, भन्सार जाँच पासका पूर्वाधारहरु थप गर्दै जाँच पास कार्यलाई तिव्रता दिइनु पर्ने, नेपाली कृषि उपजहरुको निर्यातमा सहजीकरण हुने गरी पूर्वाधारहरु निर्माण गरिनु पर्ने, भारतको दलखोला स्थित रेल्वे जक्सन पार गर्न मालवाहक सवारी साधनहरुका लागि फ्लाइओभर निर्माण गर्नु पर्ने, जोगबनीमा अध्यागमन सुविधा उपलब्ध गराउनु पर्ने, जोगबनी स्टेशनको सौन्दर्यता बढाउँदै भारतका विभिन्न शहर पुग्ने रेल्वेहरु थप गर्नु पर्ने आदि विभिन्न विषयहरु उल्लेख गरिएका छन् ।

बैठकमा संघका अध्यक्ष श्री मून्दडाज्यू सहित निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री नवीन रिजालज्यू, उपाध्यक्ष श्री अनुपम राठीज्यू, का.का. सदस्य श्री अमित सारडाज्यू लगायतको सहभागिता रहेको थियो ।

२०७८ पौष ५ गते, सोमबार