Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.10.15 – मीरगञ्ज पुल सहित विभिन्न समस्याहरु निराकरण गर्न संघको पहल

आज मिति २०७८ माघ १५ गते, शनिबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू सहित संघका पदाधिकारीज्यूहरु र कार्यसमिति सदस्यज्यूहरुले विराटनगर नाका जोड्ने भारतको जिर्ण अवस्थाको मीरगञ्ज पुलको स्थलगत निरिक्षण गर्दै सोबाट मोरङ–सुनसरी आर्थिक कोरिडोरको औद्योगिक/ व्यवसायिक क्षेत्रमा श्रृजित समस्याहरुको तत्कालै निराकरणका लागि सम्बन्धित निकायमा पहल गरेको छ ।

अध्यक्ष श्री नवीन रिजालज्यूको नेतृत्वमा आज गएको संघको टोलीले सो पुलको निरिक्षण गर्नुका साथै विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसँग समेत भेटघाट गरी विद्यमान अवस्था बारे छलफल गरेको थियो । साथै, अध्यक्ष श्री रिजालज्यूले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि विराटनगर नाका मार्फत आवत जावत गर्ने मालवाहक सवारी साधनहरुको सहज आवागमनको व्यवस्थापन गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार समेत गर्नु भएको छ । अध्यक्ष श्री रिजालज्यूले पत्र मार्फत परराष्ट्र मन्त्रालय समक्ष सो पुलको स्थायी समाधान नहुञ्जेल भारतको अररिया कुर्साकाँटा–जोगबनी सडक मार्फत ३० टन सम्मका मालवाहक सवारी साधनहरु आवागमनका लागि भारतीय प्रशासनले अनुमति दिनु पर्ने, सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधिन पुललाई ३ दिन भित्र अस्थायी रुपमा संचालनमा ल्याउनु पर्ने र हाल स्थगन भएको मीरगञ्ज पुलको जिर्णोद्वार कार्य तत्कालै सुचारु गर्नु पर्ने आदि माग राख्दै सोका लागि भारतीय पक्षलाई तत्कालै पहल गर्न अनुरोध गर्नु भएको छ ।

त्यस्तै, अध्यक्ष श्री रिजालज्यूले आजै विराटनगर महानगरपालिकाका नगर प्रमुखज्यूसँग समेत भेट गर्नु भई कोभिड १९ संक्रमण रोकथान एवं नियन्त्रणार्थ महानगरपालिकाका पछिल्ला गतिविधिहरु बारे जानकारी लिँदै नगरवासीहरुका लागि खोप र वुस्टर डोजको सहज उपलब्धताका लागि शिघ्र व्यवस्थापन गर्न समेत अनुरोध गर्नु भएको छ ।

त्यसका साथै, संघको समन्वयमा विराटनगरमा निर्माण गरिने प्रदेशस्तरीय प्रदर्शनीस्थल तथा उद्योगी÷ व्यवसायीहरुका विद्यमान समस्याहरु बारे छलफल गर्न अध्यक्ष श्री नवीन रिजालज्यूले डा. शेखर कोईरालाज्यू सहित विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिज्यूहरुसँग समेत भेटघाट गर्नु भएको छ ।

उक्त कार्यक्रमहरुमा संघका अध्यक्ष श्री नवीन रिजालज्यू सहित उपाध्यक्ष श्री विकास कुमार बेगवानीज्यू, कोषाध्यक्ष श्री राजेश कुमार अग्रवालज्यू, का.का. सदस्यज्यूहरु श्री दिपेश सुवेदीज्यू, श्री अमित राठीज्यू, श्री गोपाल अग्रवालज्यू, श्री विवेक अग्रवालज्यू लगायतको सहभागिता रहेको थियो ।

२०७८ माघ १५ गते, शनिबार