Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.10.20 – विराटनगर नाकासम्मको आवागमन सुचारु गराउन भारतीय अधिकारीहरु समक्ष संघको पहल

आज मिति २०७८ माघ २० गते, बिहीबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको नेतृत्वमा संघको टोलीले मीरगंज पुलको समस्या निराकरण एवं सम्भावित वैकिल्पक मार्गहरु मार्फत विराटनगर नाकासम्मको आवागमन सुचारु गराउने विषयमा भारतको अररिया स्थित विभिन्न भारतीय अधिकारीहरुसँग प्रत्यक्ष भेटघाट गरी ज्ञापन पत्र बुझाएको छ ।

अध्यक्ष श्री नवीन रिजालज्यू सहित सचिव श्री संजय श्रेष्ठज्यू, का.का. सदस्यज्यूहरु श्री मनिष मारुज्यू, श्री गोपाल अग्रवालज्यू लगायतको टोलीले भारतको अररिया स्थित समाहरणालय (कलेक्टरको कार्यालय)मा अररियाका कलेक्टर एवं डिष्ट्रीक्ट मेजिस्टे«ट श्री प्रशान्त कुमारज्यूलाई पत्र बुझाएको छ भने त्यहाँका प्रहरी उपरिक्षक श्री विनोद कुमार सिंहज्यू सहित भारतीय जनता पार्टीका मन्त्री माननीय अजय कुमार झाज्यू र जिल्ला महामन्त्री माननीय दिलिप झाज्यूलाई समेत भेटघाट गरी क्षतिग्रस्त मिरगञ्ज पुलका कारण नेपाली उद्योगी÷व्यवसायीहरुले भोगिरहेका समस्याहरु बारे अवगत गराई त्यसको शिघ्र समाधानका लागि सुझावहरु पेश गरेको छ ।

भेटघाट एवं ज्ञापन पत्र मार्फत अध्यक्ष श्री नवीन रिजालज्यूले विराटनगर नाकासम्मको भारतका बथनाहा–जोगबनी मार्गमा अवस्थित मीरगञ्ज पुल गत जनवरी ६ तारिकमा क्षतिग्रस्त भएयता करिब एक महिनादेखि सो मार्गबाट मालवाहक सवारी साधनहरुको आवागमन अवरुद्ध हुन पुगेको बताउँदै त्यस कारण दैनिक करिब ४ सय मालवाहक सवारी साधनहरु हाल भीमनगर–भन्टावारी नाका प्रयोग गर्दै थप १३० किमी गन्तव्य तय गर्न बाध्य भएको बताउनु भएको थियो । साथै, अध्यक्षज्यूले त्यसबाट नेपाली उद्योगी÷व्यवसायीहरुलाई प्रति मालवाहक सवारी साधनमा करिब रु. २० हजार सम्मको आर्थिक व्ययभार थप हुन पुगेको जनाउँदै त्यसको निराकरणका लागि भारतीय पक्षबाट तत्कालै विकल्पहरु अपनाउन अनुरोध सहित संघको तर्फबाट सुझावहरु पेश गर्नु भएको छ ।

सो क्रममा अध्यक्ष श्री रिजालज्यूले विराटनगर नाका मार्फत नेपाल प्रवेश हुने ३० मेट्रिक टन सम्मका सवारी साधनहरु सहित भारत फर्किने खाली सवारी साधनहरुका लागि अररिया–कुर्साकाँटा–जोगबनी मार्ग खुला गरिनु पर्ने, क्षतिग्रस्त मीरगञ्ज पुलको छेउमा अन्तिम चरणमा निर्माणाधिन ४ लेनको नयाँ पुललाई अस्थायी रुपमा आगामी ३ दिन भित्र संचालनमा ल्याउने व्यवस्था गरिनु पर्ने तथा क्षतिग्रस्त मीरगञ्ज पुलको मर्मत कार्य समेत शिघ्रताका साथ सम्पन्न गरिनु पर्ने आदि सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।

२०७८ माघ २० गते, बिहीबार