Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.11.01 – संघीय र प्रदेश सरकारका पूर्व मन्त्रीहरु समक्ष समस्या समाधानार्थ संघको पहल

आज मिति २०७८ फागुण १ गते, आइतबार, मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूले ने.क.पा. एमालेका महासचिव एवं पूर्व अर्थ मन्त्री माननीय विष्णु पौडेलज्यूसँग भेटघाट गर्नु भई विराटनगर नाका जोड्ने भारतको बथनाहा–जोगबनी खण्डमा अवस्थित मीरगञ्ज पुलको विकल्पमा संघको पहलमा निर्मित नयाँ पुलको अस्थायी संचालनका लागि भारतका सम्बन्धित निकायहरुमा पहल गरिदिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाउनु भएको छ ।

संघका अध्यक्ष श्री नवीन रिजालज्यूले पूर्व अर्थ मन्त्री माननीय विष्णु पौडेलज्यू सहित प्रदेश नं. १का पूर्व सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरेज्यू समक्ष क्षतिग्रस्त मीरगञ्ज पुलले अवरुद्ध हुन पुगेको विराटनगर नाका र त्यसको विकल्पमा प्रयोग गरिएको भीमनगर–भन्टाबारी नाकाका कारण मोरङ–सुनसरी आर्थिक कोरिडोरका औद्योगिक/व्यवसायिक प्रतिष्ठानहरुलाई पर्न गएको नकारात्मक प्रभावहरु अवगत गराई त्यसको शिघ्र समाधानार्थ हाल नयाँ पुललाई अस्थायी रुपमै भएपनि संचालनमा ल्याउन सकिने देखिएको बताउँदै सो का लागि भारतका सम्बन्धित निकायमा जोडदार पहल गरिदिन अनुरोध गर्नु भएको थियो ।

अध्यक्ष श्री रिजालज्यूको अनुरोध लगत्तै पूर्व अर्थ मन्त्री विष्णु पौडेलज्यूले नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गर्नु भई अध्यक्षज्यूले जनाउनु भएको तत्कालिक समाधानका उपाय बारे महामहिम राजदूतसँग छलफल गर्नु भएको थियो । प्रतिउत्तरमा महामहिम राजदूतले सो अवस्था बारे आफू पनि जानकार रहेको र समस्या निराकरणका लागि आफू सकारात्मक रहेको बताउँदै सो समाधानका लागि दर्शाइएका तत्कालिक कदमहरु शिघ्रताका साथ अघि बढाइने आश्वासन दिनु भएको छ ।

त्यसका साथै अध्यक्ष श्री रिजालज्यूले पूर्व परराष्ट्र मन्त्री माननीय प्रदिप कुमार ज्ञवालीज्यूसँग समेत भेटघाट गरी उद्योगी÷व्यवसायीहरुको विद्यमान समस्याहरु बारे अवगत गराउनु भएको थियो । उपरोक्त भेटघाटहरुका क्रममा संघका अध्यक्ष श्री नवीन रिजालज्यू सहित पूर्व अध्यक्ष श्री पवन कुमार सारडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठीज्यू र का.का. सदस्य श्री सुशिल सुरानाज्यूको उपस्थिति रहेको थियो ।

२०७८ फागुन १ गते, आइतबार