Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.11.03 – संघको माग प्रति भारतीय केन्द्रीय मन्त्रीको आश्वासन, एक महिना भित्रै नयाँ पुल संचालन गरिने

२०७८ फागुन ३ गते, मंगलबार, मोरंग व्यापार संघले बथनाहा–जोगबनी सडक खण्डमा पर्ने परमान नदीमा निर्मित नयाँ पुलको शिघ्र संचालनका लागि विगत एक महिना देखि उठाउँदै आएको माग प्रति भारतीय सडक, परिवहन तथा राजमार्ग मन्त्री माननीय नीतिन गड्करीज्यूले सकारात्मकता दर्शाउँदै आगामी एक महिना भित्र सो पुल पूर्ण रुपमा संचालनमा ल्याउने गरी कार्य अघि बढाउन आफूले निर्देशन दिएको जनाउनु भएको छ ।

नेपाल स्थित भारतीय राजदूतावास मार्फत भारतका केन्द्रीय मन्त्री माननीय गड्करीज्यूले उक्त जानकारी गराउनु भएको छ भने भारत स्थित नेपाली राजदूतावासले समेत संघको मागलाई भारतीय पक्ष समक्ष पेश गरी सकिएको जनाएको छ । त्यस सुखद् समाचार प्रति संघका अध्यक्ष श्री नवीन रिजालज्यूले खुसी व्यक्त गर्नु भई वहाँ लगायत संघको सो पहल प्रति सकारात्मक कदम चाल्नु हुने सबैमा आभार प्रकट गर्नु भएको छ ।

नेपाली उद्योगी/व्यवसायीहरुले मोरङ–सुनसरी आर्थिक कोरिडोरको दुःख भनि सम्बोधन गर्दै आएको जीर्ण अवस्थाको मीरगञ्ज पुलको विकल्पका लागि मोरंग व्यापार संघले विगत केहि वर्ष देखि नेपाल र भारतका कैयौं निकायहरुको ध्यानाकर्षण गराउँदै आएको छ । विगतमा आएका बाढीहरुका कारण मीरगञ्ज पुल क्षतिग्रस्त हुँदा मुलुककै दोश्रो ठूलो नाका विराटनगर भन्सार कार्यालय मार्फत मालवाहक सवारी साधनहरुको आवागमन पटक पटक अवरुद्ध हुँदै आएकोमा संघले तत्कालिक रुपमा भीमनगर–भन्टाबारी नाका मार्फत रि–रुट र क्षतिग्रस्त पुलको जीर्णोद्वार लगायतका कार्य गरी सवारी साधनहरुको आवागमन अस्थायी रुपमा सूचारु गराउँदै आएको छ । त्यसका साथै संघले त्यसको स्थायी समाधान स्वरुप मीरगञ्ज पुलको समानान्तरमा ४ लेनको नयाँ पक्की पुल निर्माणका लागि भारत र नेपालका विभिन्न निकायहरुमा जोडदार पहल गर्दै आएको थियो । फलतः विगत २ वर्षको छोटो अवधिमै उक्त नयाँ ४ लेनको पुलको निर्माण कार्य अन्तिम अवस्थामा आई पुगेको छ । यद्दपी, जनवरी २०२२को पहिलो सातामा मीरगञ्ज पुल पुनः क्षतिग्रस्त भई सवारी साधनहरुको आवागमन ठप्प हुन गएकोमा संघका अध्यक्ष श्री नवीन रिजालज्यू सहितको टोलीले पुलको स्थलगत निरीक्षण गरी त्यसको समानान्तरमा अन्तिम अवस्थामा निर्माणाधिन नयाँ पुलको निर्माण कार्य यथाशिघ्र सम्पन्न गर्न र तत्कालिक रुपमा सम्भव देखिएको सो पुलको अस्थायी संचालनका लागि माग गर्दै आएको छ ।

२०७८ फागुन ३ गते, मंगलबार