Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.02.27 – बजेट नीतिहरु सुधार्ने अर्थमन्त्रीको सकारात्मक आश्वासन

स्वदेशी उद्योग विरुद्ध जारी त्रुटिपूर्ण बजेट नीतिहरु सुधार्ने अर्थमन्त्रीको सकारात्मक आश्वासन

मिति २०७९ जेठ २७ गते, शुक्रबार अर्थमन्त्री माननीय जनार्दन शर्मा ‘प्रभाकर’ज्यूको आमन्त्रणमा काठमाडौँ जानु भएका मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू, पूर्व अध्यक्ष श्री पवन कुमार सारडाज्यू, महासचिव श्री अनिल सारडाज्यू सहित उद्योग संगठन मोरङ र उद्योग परिसंघ, प्रदेश नं. १का अध्यक्षज्यूहरु र पदाधिकारीहरु र विभिन्न ट्रेड युनियनका प्रमुख एवं प्रतिनिधिज्यूहरु सहितको टोलीले अर्थमन्त्रीज्यूसँग वहाँको कार्यकक्षमा भेटवार्ता गरी स्वदेशी उद्योगहरु प्रभावित हुने गरी बजेट २०७९÷८०मा उल्लेख भएका नीतिहरुको तत्कालै सुधारका लागि आग्रह गरेको छ । भेटवार्ताका क्रममा अर्थमन्त्री शर्माज्यूले संघ–संगठनले उठाएका जि.आई. वायर, स्यानिटरी प्याड, वनस्पति तेल सहित अन्य केहि उद्योगहरुका विषयमा आ.व. २०७९/८०को बजेट नीतिमा केहि त्रुटि हुन पुगेको स्वीकार्नु भई उक्त त्रुटीहरु नियतवश नरहेको बताउँदै बजेटका सो त्रुटिपूर्ण नीतिहरु प्रकृयागत रुपमा सुधार गर्न आफू लागि परेको र उद्योगीहरु तत्कालै हतोत्साहित नहुन भनी सकारात्मक आश्वासन दिनु भएको छ ।संघका अध्यक्ष श्री नवीन रिजालज्यूको नेतृत्वमा काठमाडौँ गएको सो टोलीले माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूलाई समेत भेट गरी पछिल्लो आर्थिक नीतिबाट आक्रान्त हुन पुगेका उद्योगहरुको समस्या बारे अवगत गराउँदै नीति सुधारका लागि पहल गरिदिन अनुरोध गरेको छ ।नेपाल सरकारबाट जारी भएको आ.व.२०७९/८० का बजेटका केही नितिहरु स्वदेशी उद्योग र श्रमिकको हित विपरित रहेकाले सो को विरोधमा मोरंग व्यापार संघ समेतको नेतृत्वमा विगत केही दिनयता शान्तिपूर्ण विरोध कार्यक्रमहरु संचालन गरिँदै आएको छ । प्रथम चरणमा नेपाल सरकारका सम्बन्धित निकायहरुमा ज्ञापन पत्र बुझाई पत्रकार सम्मेलन गरी उद्योगहरुमा उत्पन्न समस्या बारे उजागर गरिएको थियो भने त्यस पश्चात् चरणवद्ध दवावमुलक कार्यक्रम स्वरुप हिजो मोरङ–सुनसरी औद्योगिक कोरिडोरका सयौँ उद्योगी र हजारौँ श्रमिकहरु एकत्र भई विराटनगरको ढाठ देखि मोरङको गोकुवा चौकसम्म प्रदर्शन गरी केही वेर सडक अवरुद्ध गरेका थिए । त्यस्तै, टोलीले आज काठमाडौँ प्रस्थान गर्नु अघि मोरंग व्यापार संघको प्राङगणबाट विराटनगर बजार हुँदै प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म शान्तिपूर्ण सांकेतक विरोध ¥यालीको आयोजना गरेको थियो भने ¥याली पश्चात् मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष श्री भीम घिमिरेज्यू र विभिन्न ट्रेड युनियनका प्रमुखज्यू एवम् प्रतिनिधिज्यू सहितको टोलीले प्रदेश नं. १ का मुख्यमन्त्री माननीय राजेन्द्र कुमार राईज्यूका लागि प्रमुख सचिव डा. रामप्रसाद घिमिरेज्यू मार्फत ज्ञापन पत्र बुझाएको थियो ।