Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.07.16 – एकल अंकको बैंक ब्याजदर वा बैंकहरुलाई राष्ट्रियकरण गर्न अनुरोध

एकल अंकको बैंक ब्याजदर वा बैंकहरुलाई राष्ट्रियकरण गर्नुपर्ने धारणा सहित मिति २०७९ कार्तिक १६ गते, बुधबार मोरंग व्यापार संका अध्यक्ष श्री नवीन रिजालज्यू, नेपाल उद्योग परिसंघ, प्रदेश १का अध्यक्ष श्री भीम घिमिरेज्यू, उद्योग संगठन मोरङका अध्यक्ष श्री सुयेश प्याकुरेलज्यू सहितको टोली काठमाडौँ गई नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीज्यूलाई भेट गरी विद्यमान बैंकिङ नीति, चर्को बैंक ब्याजदर, सत् प्रतिशत एलसी मार्जिन आदिबाट चरम प्रभावित निजी क्षेत्रका उद्योग व्यवसायहरुका समस्याहरु तत्कालै निराकरणार्थ अनुरोध गरेको छ ।  

भेटघाटका क्रममा अध्यक्ष श्री नवीन रिजालज्यूले हाल बैंकहरुले उद्योगी व्यवसायीहरुले उच्च ब्याजदर असुल्न थालेको, बैंकिङ शुल्क र खर्चहरु अचाक्ली रुपमा वृद्धि भएको, सत् प्रतिशत एलसी मार्जिनका लागि पुँजी अभाव हुने गरेको र महङ्गी समेत बढ्न गएबाट उद्योगी/व्यवसायीहरु सहित समग्र आम उपभोक्ता नै चरम मारमा परेको बताउनु भई विद्यमान जटिल समस्यालाई नियन्त्रण गर्न कि त हालको उच्च बैंक ब्याजदरलाई तत्कालै एकल अंकमा कायम गर्नु पर्ने अथवा सबै बैंकहरुलाई राष्ट्रियकरण गर्नु पर्ने सुझाव दिनु भएको छ ।

अध्यक्ष श्री रिजालज्यूद्वारा प्रस्तुत सुझावहरुलाई गभर्नरज्यूले आफूले गम्भीरतापूर्वक लिएको बताउनु भई ती समस्याहरु समाधानार्थ शीघ्रताका साथ आवश्यक कदम चाल्ने आश्वासन दिनु भएको छ ।

टोलीमा मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू, नेपाल उद्योग परिसंघ, प्रदेश १का अध्यक्ष श्री भीम घिमिरेज्यू, उद्योग संगठन मोरङका अध्यक्ष श्री सुयेश प्याकुरेलज्यू सहित मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, पूर्व अध्यक्षज्यूहरु श्री महेश कुमार जाजूज्यू र श्री पवन कुमार सारडाज्यू, का.का. सदस्य श्री गोपाल अग्रवालज्यू र उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।