Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.09.14 – बैंकिङ समस्याहरु निराकरणार्थ प्रधानमन्त्रीज्यूलाई समेत उद्योगी व्यवसायीको अनुरोध

बैंकिङ समस्याहरु निराकरणार्थ प्रधानमन्त्रीज्यूलाई समेत उद्योगी व्यवसायीको अनुरोध

आज मिति २०७९ पौष १४ गते, बिहीबार, मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको नेतृत्वमा काठमाडौं गएको टोलीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूलाई समेत भेट गरी विद्यमान चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरुको तत्कालै निराकरणका लागि अनुरोध गरेको छ ।

भेटवार्ताका क्रममा अध्यक्ष श्री रिजालज्यूले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष बैंकका पछिल्ला प्रतिकूल व्यवस्थाहरुबाट उद्योगी/व्यवसायी र आम सर्वसाधारणहरुमा उत्पन्न भएको असहज वातावरण बारे उल्लेख गर्दै तिनका समाधानार्थ सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिन अनुरोध गर्नु भएको हो ।

सो क्रममा मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू सहित संघका पूर्व अध्यक्ष श्री पवन कुमार सारडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठीज्यू, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष श्री प्रदिप मुरारकाज्यू, संघका उपाध्यक्ष श्री अनिल कुमार साहज्यू र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल प्रदेश नं. १ का अध्यक्ष एवं संघका सचिव श्री संजय कुमार श्रेष्ठज्यू लगायतको सहभागिता रहेको थियो ।

अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेलज्यूको आग्रहमा नेपाल राष्ट्र बैंक विराटनगर अगाडिको धर्नालाई स्थगन गरी वार्ताका लागि काठमाडौं गएको सो टोलीले यस अघि अर्थमन्त्रीज्यू, नेपाल राष्ट्र बैंकका गभर्नरज्यू, अर्थसचिवज्यूसँग वार्ता गरी विद्यमान समस्याहरु निराकरणार्थ सुझाव पत्र पेश गरेको थियो ।

२०७९ पौष १४ गते, बिहीबार ।