Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.12.10 – संघद्वारा भारतीय राजस्व विभागका माननीय सदस्य र भन्सार आयुक्तहरुको स्वागत गरी छलफल

मोरंग व्यापार संघद्वारा भारतीय राजस्व विभागका माननीय सदस्य र भन्सार आयुक्तहरुको स्वागत गरी छलफल
मिति २०७९ चैत्र १० गते, शुक्रबार मोरंग व्यापार संघले सीमा नाका जोगबनीमा पाल्नु भएका भारत सरकारको राजस्व विभागका केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डका सदस्य माननीय संजय कुमार अग्रवाल, पटना भन्सार क्षेत्रका मुख्य आयुक्त (चिफ कमिश्नर) श्री अजय सक्सेना र पटना भन्सारका प्रधान आयुक्त (प्रिन्सीपल कमिश्नर) श्री पीके कटियारलाई एकीकृत जाँच चौकी (आई.सी.पी.), जोगबनीमा स्वागत गरी भेटघाट गरेको छ ।

संघका निर्वतमान अध्यक्ष श्री प्रकाश मून्दडा, वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठी, वाणिज्य उपाध्यक्ष श्री अनिल कुमार साह, का.का. सदस्यद्वय श्री अमित सारडा र श्री श्याम राठी सहितको टोलीले वहाँहरुको स्वागत गरी छलफल गरेको थियो ।

स्वागत पश्चात् संघको तर्फबाट मन्तव्य दिने क्रममा वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठीले नेपालकै प्रथम उद्योग वाणिज्य संघ, ‘मोरंग व्यापार संघ’को तर्फबाट वहाँहरुलाई एक साथ स्वागत गर्न पाएकोमा हर्षित महसुस गरिरहेको बताउँदै मोरङ–सुनसरी आर्थिक कोरिडोरका लागि हाल खाँचो देखिएका केही आवश्यक व्यवस्थाहरु बारे अवगत गराउनु भएको थियो । वहाँले रेलमार्गबाट आई.सी.पी., जोगबनीसम्म बल्क कार्गो र कन्टेनरहरुको आवतजावतको व्यवस्था गरिनु पर्ने, नेपालका कृषि उत्पादन निर्यात गर्न आई.सी.पी, जोगबनीमा पीएफए टेस्ट ल्याब (परीक्षण प्रयोगशाला) र खाद्य क्वारेन्टाईन कार्यालय स्थापना गरी पोर्ट हेल्थ अफिसर नियुक्त गरिनु पर्ने, हाल जुट निर्यातमा प्रत्येक ट्रक पिच्छे अनिवार्य गरिएको ओजो सर्टिफिकेशनलाई सहज गरिनु पर्ने लगायतका सुझावहरु पेश गर्नु भएको थियो ।

सो कार्यक्रममा आई.सी.पी., जोगबनीका व्यवस्थापक श्री रत्नाकर यादवले प्रस्तुति मार्फत आई.सी.पी., जोगबनीका गतिविधिहरु बारे अवगत गराउनु भएको थियो भने केही अन्य व्यवसायिक प्रतिष्ठानहरुले समेत आ–आफ्ना सुझावहरु पेश गरेका थिए ।