Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

२०७७ असोज ६ गते – संघमा प्र.जि.अ. र सह–प्र.जि.अ.को स्वागत

आज मिति २०७७ असोज ६ गते, मंगलबारका दिन जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी श्री कोशहरी निरौलाज्यू र सहायक प्रमुख जिल्ला अधिकारी श्री ध्रुव बहादुर खड्काज्यूको मोरंग व्यापार संघमा स्वागत गरी भेटघाट गरिएको थियो । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले प्र.जि.अ. र स.प्र.जि.अ.ज्यूको स्वागत गर्नु भई मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्याहरु बारे अवगत गराउनु भएको थियो । 
लकडाउन र निषेधाज्ञाका साथै समय समयमा आकस्मिक रुपमा आईपर्ने समस्याहरुका कारण यस करिडोरका अधिकांश उद्योग व्यवसायहरुले ठूलो आर्थिक मारको सामना गर्दै धरासायी हुने तर्फ उन्मुख भईरहेको बताउनु भई अध्यक्षज्यूले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको संरक्षण र पुनर्उत्थानकालागि नेपाल सरकार लगायत स्थानीय स्तरमा रहेका सबै सरकारी निकायहरुबाट सस्फूर्त रुपले सहयोग हुनुपर्ने आशय व्यक्त गर्नु हुँदै जिल्ला प्रशासन कार्यालय मोरङको पनि निरन्तर साथ र सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

सामाजिक दुरी एवम् स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्दै संघमा आयोजित उक्त स्वागत कार्यक्रममा उपस्थित संघका वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू, विशेष सल्लाहकार श्री सुनिल टिवडेवालाज्यू, उपाध्यक्ष (उद्योग) श्री अनुपम राठीज्यू, महासचिव श्री अनिल कुमार साहज्यू, का.का.सदस्य श्री श्याम राठीज्यू लगायतले समेत प्र.जि.अ. र स.प्र.जि.अ. समक्ष औद्योगिक व्यवसायिक समस्याहरु बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको आतिथ्यता ग्रहण गर्नुभएका प्रमुख जिल्ला अधिकारी श्री कोशहरी निरौलाज्यू र सहायक प्रमुख जिल्ला अधिकारी श्री ध्रुव बहादुर खड्काज्यूले संघका अध्यक्षज्यू लगायत पदाधिकारीज्यू र का.का.सदस्यज्यूहरुबाट अवगत गराइएका विषयवस्तुहरु अत्यन्त सान्दर्भिक रहेको बताउनु भई संवेदनशिल यस घडीमा आफ्नो मातहतमा रहेका सुरक्षा, प्रशासनिक लगायतका निकायहरु मार्फत हरसम्भव साथ र सहयोग गर्ने तथा संघ र प्रशासन बीचको सहकार्यलाई अझ सशक्त रुपले अघि बढाउने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

मितिः २०७७ असोज ६ गते, मंगलबार ।